असोज
११, काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीमा नेपाल आउने पर्यटकहरूलाई
विशेष सम्मान गरिएको छ।
नेपाल–भारत सीमास्थित
बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका अस्ट्रेलिया, नेदरल्याण्ड्स
र भारतका चार पर्यटकलाई सिमानामै स्वागत गरी सम्मान प्रदान गरिएको हो।
नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर
एजेन्ट्स (नाट्टा) लुम्बिनी शाखाले शनिबार बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने
पहिलो चार विदेशी पर्यटकलाई सम्मानित गरेको हो।
रुपन्देहीका पर्यटन व्यवसायीहरू शनिबार
बिहान ९ बजेअघि नै बेलहिया सिमानाका दसगजास्थल पुगेका थिए। त्यहाँको प्रवेशद्वार
क्षेत्रमा बिहानैदेखि नेपाली राष्ट्रिय गान बजाइएको थियो।
दशैं मनाउन भारतबाट नेपाल फर्किरहेका
नेपालीहरू पनि सिमानामा उत्साहित देखिन्थे।
पर्यटन दिवसको अवसरमा आयोजना गरिएको
कार्यक्रममा सहभागी भएकाहरूले न केवल विदेशी पर्यटकहरू, तर स्वदेश फर्किरहेका नेपालीहरूमा समेत
खुसी र गर्वको भावना देखिएको बताइन्छ।
सम्मान प्राप्त गर्ने
पर्यटकहरूमा अस्ट्रेलियाकी बारबरा डोरा, नेदरल्याण्ड्सका
मार्सल कैयवर, र भारतका डा. संजय
सिंह तथा बिनोद मिश्र रहेका छन्। उनीहरूलाई ढाकाटोपी, दोसल्ला र गौतम बुद्धको मूर्ति दिएर
स्वागत गरिएको थियो।
- न्युज बहार संवाददाता