भदौ १०, काठमाडौँ । तिब्बततर्फबाट रसुवा हुँदै आएको भीषण
बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवाको
भोटेकोशी नदीमा आएको बाढीका कारण सीमावर्ती क्षेत्रका बस्तीहरूमा भयावह अवस्था
सिर्जना भएको छ।
गोसाइँकुण्ड
गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरे गाउँमा
रहेका अधिकांश घर तथा संरचना बगाएको छ। उनका अनुसार गाउँको अवस्था यति गम्भीर छ कि
अहिले त्यहाँ सग्लो घर भेट्नसमेत कठिन भएको छ।
घलेले
बाढीबाट कति मानिस बेपत्ता भए भन्ने यकिन हुन नसकेको बताएका छन्। उनका अनुसार करिब
डेढ सय मानिसहरू बाढीबाट जोगिन उकालो क्षेत्रमा पुगेका छन्।
टिमुरेमा
बाढी आउनुअघि एक सयभन्दा बढी घर रहेको बताउँदै घलेले कति मानिस सुरक्षित रहे र कति
जना बाढीमा परे भन्नेबारे तत्कालै यकिन गर्न सकिने अवस्था नरहेको जानकारी दिएका
छन्।
बाढीबाट
जोगिएर उकालो क्षेत्रमा पुगेका मानिसहरू पनि सुरक्षित स्थानमा नरहेको भन्दै
उनीहरूलाई थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको घलेले बताएका
छन्।
बाढीपछि
टिमुरेमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सम्भावित बेपत्ता तथा
प्रभावितको खोजी र उद्धारका लागि सम्बन्धित निकायले तत्काल सक्रियता बढाउनुपर्ने
अवस्था देखिएको छ।
- न्युज बहार संवाददाता