भदौ,११
काठमाडौँ ।
हिजो भोटेकोशी नदीमा आएको
बाढीले रसुवाको सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण जिल्लामा
करिब ४० किलोमिटर सडक पूर्ण रूपमा बिग्रिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले
जनाएको छ।
बेत्रावतीबाट
मैलुङ हुँदै स्याफ्रुबेँसी र रसुवागढीसम्म पुग्ने सडक बाढीका कारण पूर्ण रूपमा
क्षतिग्रस्त बनेको छ। त्यस्तै, गल्छीदेखि
त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि हाल आवागमनका लागि बन्द रहेको छ।
पृथ्वीराजमार्गको
करिब १३ किलोमिटर क्षेत्रमा समेत बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ। सडकमा
जम्मा भएको लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने कामलाई मन्त्रालयले प्राथमिकतामा
राखेर अघि बढाएको जनाएको छ।
बाढीबाट
४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयको विवरण छ। तत्काल आवागमन सहज
बनाउन सरकारले ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज उपलब्ध गराउने तयारी गरेको छ।
आवश्यक स्थान पहिचान गरी ती बेलिब्रिज जडान गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
यसका
साथै भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउन सहयोग गर्ने
प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।
- न्युज बहार संवाददाता