मंसिर १९, काठमाडौँ । गायक तथा अभिनेता समेत रहेका प्रकाश सपुत फेरी विवादमा तानिएका छन । उनी अहिले फेरि एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको भिडियो क्लिपले विवादमा परेका हुन् ।
मोडल सुनिता बुढासँग उनले काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो क्लिपलाई लिएर उनको आलोचना गरिरहेका छन्। सार्वजनिक भिडिओ क्लिपमा उनले बुढासँग उक्त इनारमाथि नाचेको देख्न सकिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा नाचेपछि उनको आलोचना भएको हो ।
उनिमाथी कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको आरोप समेत लगाइएको छ । तर अहिले भाइरल भएको भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो । यस गीतको पूरा भिडियोको छायाङ्कन हनुमान ढोका दरबार परिसरमै भएको थियो । अहिले यही सुटिङको भिडियो क्लिप बाहिरिएको हो । यही सुटिङको क्लिपका कारण उनको आलोचना भएको हो । यस गीतको सार्वजनिक पुरा भिडियोमा भने इनारमाथि नाचेको प्रस्ट देखिएको छैन ।
- न्युज बहार संवाददाता