असोज ५, मुस्ताङ । केही दिनयता प्रसिद्ध
तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्दै गएको छ । प्रत्येक वर्षको पितृ
पक्ष (सोह्र श्राद्ध)का समयमा विशेषतः नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ आउने
दर्शनार्थीको संख्या बड्ने गर्दछ ।
मन्दिरका
पूजारी कृष्णप्रसाद सुवेदीका अनुसार यस वर्ष सोह्र श्राद्ध सुरु भएसँगै
मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको छ । देशका विभिन्न स्थानबाट सोह्र
श्राद्ध सुरु भए यता आउने दर्शनार्थीहरू बढ्दै गएका छन्
र पितृ पक्ष अवधिभर नै यहाँ
दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।
मुस्ताङ
आएका दर्शनार्थीहरुले कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्ने गर्छन । यसो
गर्दा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको
छ । मन्दिर आउने दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् ।
तीर्थ जलका रुपमा एक सय आठ धाराको पानीलाई घरघरमा लैजाने प्रचलन पनि रहेको छ । मुक्तिनाथ
धार्मिक दृष्टिका साथै प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मात्र नभएर पर्यटकीय
रुपमा पनि उत्तिकै महत्वपूर्ण स्थानका रुपमा परिचित छ ।