कार्तिक
१, काठमाडौँ । कार्तिक कृष्ण
त्रयोदशीको दिन पर्ने धनतेरस पर्व आज देशभर मनाइएको छ। यस दिन घरका पूजाकोठामा
नयाँ धातुका भाँडाकुँडा (जस्तै सुन, चाँदी, तामा आदि) ल्याई स्थापना गरी धनका देवता
कुबेरको विशेष पूजा गरिन्छ। कुबेरको जयन्तीका अवसरमा गरिएको यो पूजा केही स्थानमा
लक्ष्मीपूजाको दिनसमेत गरिने परम्परा छ।
धनतेरसलाई ‘भाण्ड त्रयोदशी’ पनि भनिन्छ। आज ल्याइएका नयाँ
भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ भन्ने धार्मिक विश्वास
रहेको छ। हिन्दू सनातन परम्पराअनुसार यसरी पूजा गर्दा लक्ष्मी देवी स्थायी रूपमा
बस्ने जनविश्वास रहेको छ।
यस अवसरमा सुनचाँदीका
गहना किन्ने चलन पनि छ। धार्मिक आस्थाका कारण आज बजारमा भाँडाकुँडा र गरगहना
किन्ने मानिसहरूको भीड लागेको छ।
- न्युज बहार संवाददाता