बैशाख १४, लुम्बिनी । लामो प्रतिक्षा पश्चात् बुद्ध जन्मस्थल लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनमा आउने भएका छ । लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि थन्किएका विद्युतीय सवारी साधनको हाल सम्म सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रिया नहुनु, ढिलाइ हुनु र सञ्चालनको नमूना तयार नभएर बेवारिसे बनेका थिए।
प्रदेश सरकारले दातृ निकायहरुबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । लुम्बिनी प्रदेश सरकारले बिगत साढे दुई वर्षदेखि यतिकै थन्किएका ती सवारी सञ्चालनका लागि हालै कानुनी बाटो खुला गरिदिएको छ ।
यही २०८० वैशाख ८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।
यस निर्णयसँगै अलपत्र र थन्किएका यी बस सञ्चालनका लागि बाटो खुला भएको छ ।
- न्युज बहार संवाददाता