भदौ ८, म्याग्दी । पर्यटनमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाले रु
एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा
गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर उक्त आम्दानी गर्न सफल भएको हो ।
गाउँपालिकाले पालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल पाउद्वार
तातोपानी कुण्ड, भुरुङ तातापानी र पुनहिललाई आय ठेक्का लगाएको मोहरेडाँडा, खोप्रा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा
सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय
अधिकृत अमृत सुवेदीले जानकारी दिएका छन ।
अन्नपूर्ण
गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने
लक्ष्य राखेकोमा वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गाउँपालिकाले
गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा
लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरिएको थियो ।
- न्युज बहार संवाददाता