जेठ ५, काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको एउटा ठाउँ हो जुन पछिल्लो समय स्वदेशी तथा विदेशी धेरै पर्यटकहरुको प्रमुख रोजाइ बन्दै गएको छ ।
काठमाडौँको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्यहरु देख्न सकिन्छ र यहाँ भएका विकासका एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्न पुगेको छ।
चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यले सबैको मन लोभ्याउने गरेको छ। सभा–समारोह र बैठक आयोजना गर्न होस, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न होस वा विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन प्राय सबैको रोजाई चन्द्रागिरि हुने गरेको छ। साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि याहाँ भएको भालेश्वर मन्दिरमा दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् । मन्दिर सँगै यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ ।
भालेश्वर मन्दिरमा साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् ।
चन्द्रागिरि सबैको रोजाईमा पर्नुको अर्को कारण भने याहाँको आवतजावत सजिलो भएकाले हो। याहाँ काठमाडौँको कुनैपनि ठाउँबाट सार्वजनिक बस चढेर र त्यसपछी केबलकार चढेर पुग्न सकिन्छ भने पैदल यात्रा मनपराउने हरु हिडेर पनि जान सक्छन। चन्द्रागिरिमा विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएको छ केबलकार सुरु भएसँगै चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।
चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्स प्रालिले रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ ।
- न्युज बहार संवाददाता