कार्तिक २५, काठमाडौँ । तिहारका अवसरमा काठमाडौँ महानगरपालिकाले नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले तिहारका समयमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको जानकारी दिएका छन ।
पाण्डेका अनुसार नेपाली फूल मखमली, गोदावरी र सयपत्रीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउन तीनकुने, भृकुटीमण्डप र हाँडीगाउँ कृष्णमन्दिर नजिक र बालाजुस्थित भ्याली कोल्डस्टोरलाई बिक्रीस्थल तोकिएको छ ।
मेयर बालेन शाहले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिदैँ यी चार स्थानमा फूल बेच्न बस्नेलाई महानगरपालिकाले अवरोध नगर्ने बताएका छन् । यस विषयमा मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा फूल बिक्री गर्ने स्थान तोक्नुको प्रयोजनबारे लेखेका छन ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ।’
- न्युज बहार संवाददाता