कार्तिक ४, काठमाडौँ । आज नवरात्र अर्थात् बडादशैंको सातौँ
दिन दशैंघर वा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । फूलपाती भित्राउनुका साथै आज नौ दुर्गामध्येकी
सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।
कालरात्रि देवीको दुर्गा
पक्षको सातौं दिन विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ । नवरात्रमा
पुजिने सम्पुर्ण देवीको स्वरुपलाई कालरात्रि मान्ने गरिन्छ । विभिन्न पुराण अनुसार
कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको भन्ने गरिन्छ ।
पौराणिक ग्रन्थमा प्राणीलाई
नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको उल्लेख गरिएको छ ।
घटस्थापना गरिएको
स्थलमा नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), देवी स्तोत्र, श्रीमद्देवी
भागवतलगायत पाठसमेत गर्ने गरिन्छ ।
देवीको आराधना गरी
पूजा गरेमा नवरात्रका अवसरमा शक्ति, ऐश्वर्य र विद्या
प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।
नेपाली सेनाले आज बडादशैंको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा
फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । यस फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट
मौलिक कार्यक्रम हो । यो कार्यक्रमको मुख्य आकर्षण सैनिक परेड हो ।
त्यसैगरी आज हनुमानढोका दरबारका लागि गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको फूलपातीसहितको डोली पठाइँने गरिन्छ । काठमाडौँको हनुमानढोका दरबारबाट तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहेको छ ।

- न्युज बहार संवाददाता