चैत २८, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकामा किसानले आकर्षक आम्दानी गर्न थालेका छन। गाउँपालिकाका किसान अहिले व्यावसायिक मकैखेती विस्तारमा लागेका छन ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीका अनुसार झापा
पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको हो । आर्थिक
वर्ष २०७९/८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती
गरिएको उनले बताएका छन ।
उक्त मकैको व्यावसायिक खेतीबाट दुई लाख २५ हजार छ सय ७५ मेट्रिक
टन उत्पादन भएको थियो । किसानलाई ब्लक, पकेट
क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर गत वर्ष केन्द्रले मकैखेतीको विस्तार गरेको
थियो ।
अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापा
गाउँपालिका र कनकाई नगरपालिकामा पाँच सय हेक्टर जमिनमा मकै जोन कार्यक्रम सञ्चालन
भइरहेको छ ।
मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा
लाग्ने विद्युत् महसुलवापत झापा गाउँपालिकाले ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आइरहेको
छ । पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाका अनुसार यस पालिकाको सात हेक्टर
जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको छ ।