असोज २१,
काठमाडौँ । सरकारले आजदेखि देशभर दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा
नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य
पसल सञ्चालन गर्ने भएको छ । आगामी मङ्सिर ३ गतेसम्म सरकारी स्वामित्वका खाद्य
व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान तथा साल्ट्र ट्रेडिङले सहुलियत पसल
सञ्चालनमा गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति
मन्त्रालयले आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य
वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन
लागिएको जनाएको छ ।
सरकारले यस्ता
पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध
गराउने उद्देश्य राखेको छ ।
ती
कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५
स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ भने राजधानी बाहिर अन्य
जिल्लामा पनि यो पसल सञ्चालन हुने छ ।
सुपथ
मुल्य पसल अन्तर्गत साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ९७ मा बिक्री गर्नेछ भने
साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट
दिने भएको छ । यता दुग्ध विकास संस्थानले पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट
र घीउमा प्रतिकिलो २० रुपैयाँ छुट दिने भएको छ ।
- न्युज बहार संवाददाता