कार्तिक
२६, काठमाडौँ । तिहारको दोस्रो दिन आज लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ
। आज साँझ श्रद्धा भक्तिपूर्वक ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको
पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
लक्ष्मीले
सफासुग्घर र लिपपोत नगरिएको घरमा बास गर्दिनन् भन्ने मान्यताका रहेकोले आज बिहानै
घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज
विशेषगरी घरका ढोका, झ्याल, कोठा, चोटा, कौसी, सङ्घार, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी
दीपावली गर्ने गरिन्छ ।
दीपावली
गरिसकेपछि पूजा कोठामा कलश, दियो र गणेशसहित लक्ष्मी स्थापना गरी पैसा, गरगहना, चामल, धान, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक
लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजापछि छोरी चेली र कन्या केटीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । धार्मिक विश्वास अनुसार आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्न जाने गरेका छन ।
- न्युज बहार संवाददाता