साउन १७, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट डेङ्गु भाइरस नियन्त्रणका लागि उक्त निर्णय गरिएको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको जानकारी दिएका छन । बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान उपमहानगरले गरेको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको बताएका हुन ।
- न्युज बहार संवाददाता