जेठ २७, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसम सुरु भएपछी आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलमा बृद्धि भएको हो। निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेपछी बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको जनकारी दिएका छन। अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या एक सय २५ रहेको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले गर्मी बढे सँगै बाघ पानी पिउन आइरहने हुँदा बाघ हेर्नका लागी जाने पर्यटकहरुले सजिलै देख्न सकिने जानकारी दिएका छन् ।
सहायक संरक्षण अधिकृत दाहालले भने ‘अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएका थिए, यस बर्ष अहिले छ हजारको हाराहारीमा पर्यटक आइसकेका छन्।’
बर्दिया राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैंडा, पाटेबाघ, जरायो, चितुवा, लगुना, चित्तल, जङ्गली हात्ती र बाह्रसिङ्गेलगायत स्तनधारी वन्यजन्तु रहेका छन्।
त्यसैगरी जलचरमा मगर गोही, घडियाल गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ देख्न सकिन्छ भने रैथाने र बसाइँ सरी आउने चराहरु निकुञ्जमा चार सय ३८ थरी रहेका छन्।
- न्युज बहार संवाददाता