माघ ९, म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका वडा नम्बर ७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरिएको छ । चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग चिमखोलाको मण्डली युवा क्लबले पहिचान गरेका हुन् । चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको क्लबका उपाध्यक्ष टीका पुनले जानकारी दिएका छन ।
उपाध्यक्ष
पुनले भने, “गोठालाहरूले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ
धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ, गोठ बस्ने चलनसँगै हराएको
बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका
छौँ ।”
हिँड्न
सक्ने एक दिन र बिस्तारै हिँडेर दुई दिनमा चिमखोलाबाट सोवाङ धुरीमा पुग्न सकिन्छ ।
चिमखोलावासी अघिल्लो पुस्तासम्म बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर
सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे ।
क्लबका
अध्यक्ष प्रविन बुढाले नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको बताएका छन । उनका अनुसार
पूर्वाधार
र प्रचार–प्रसारको
कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ
भने अहिले पूर्वाधार
निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटिएको
छ ।