जेठ ६, काठमाडौँ। पूर्वमा रहेको सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न सबैलाई मन रहर लाग्छ। त्यसकै उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ र पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ हो यही हो सिन्धुली ढुङ्ग्रेभञ्ज्याङको विशेषता ।
सिन्धुली ढुङ्ग्रेभञ्ज्याङ यात्राका लागि आकर्षक नागबेली घुम्ती सहितको रमणीय विपी राजमार्ग र दायाँबायाँको आकर्षक बस्ती अर्को आकर्षणको केन्द्र हो ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ स्थित यस ढुङ्ग्रेभञ्ज्याङ गाउँमा जम्माजम्मी ३० घरघुरीको बसोबास रहेको छ भने यस ३० घरधुरीमा अधिकांश मगर जातिको बाहुल्यता रहेको छ। ३० मधये यस बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा घरबास पर्यटन (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।
सिन्धुली जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भएको भद्रकाली सामुदायिक होमस्टे पनि यही गाउँमा छ। यस होमस्टेमा स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्यता, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई आनन्द बनाउने गर्दछ ।
विसं २०७६ चैत २९ बाट सुरु भएको सामुदायीक होमस्टे कोभिड कहरका कारण दुई वर्ष थला परेको थियो भने अहिले पुनः पुरानै लयमा फर्किंदै गरेको छ ।
हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेको होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगर बताउँछन । उनले भने ‘एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा रमाएर जाने गरेका छन।’
सेल्फी डाँडा होमस्टेमाथि रहेको छ र त्यसलाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ घरधुरीका बासिन्दाले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादनहरु बिक्री गर्ने गरेका छन् । त्यस अन्तर्गत जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकारहरु रहेका छन ।
होमस्टेमा बस्न नपाउने यात्रुहरु टाढाको यात्राबाट थाकेर आउँछन र यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिरहरु खिचेर, खिचाएर पुनः यात्रा तय गर्ने गर्दछन् ।
- न्युज बहार संवाददाता