कार्तिक
६, काठमाडौँ । आज आश्विन शुक्ल नवमी अर्थात वडा दशैँको नवौँ दिन महानवमी पर्व हर्षोल्लासका
साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
आज महानवमीका
दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरालाई विभिन्न
शक्तिपीठमा लगी चढाइने गरिन्छ ।
महानवमीका
दिनमा कोत, दशैँघर र राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, बोका, कुखुरा र राँगाको बलिसहित दुर्गा
भवानीको विशेष पूजा आराधना, श्रीमद्देवीभागवत,
दुर्गा सप्तशती एवं देवी
स्तोत्र पाठ गर्ने गरिन्छ ।
आज पशुबलि
नदिनेहरुले भने आ–आफ्नो
कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, र जटा नरिवल समेत बलि दिई पायस पनि
चढाउने प्रचलन छ ।
महानवमीको अवसरमा नेपाली सेनाका ब्यारेक र
गुल्महरुका साथै हनुमानढोका दरबारमा बाजागाजासहित
जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । राज्यका तर्फबाट प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा ५४
राँगा र ५४ बोकाको बलि दिइने गरिन्छ ।
- न्युज बहार संवाददाता