जेठ १७, मोरङ। मोरङ जिल्लाको विराटनगर बजार क्षेत्रमा अहिले विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन् ।
बजार अनुगमन सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन् ।
नाफा कमाउने मुख्य उद्धेश्यले समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । समय भन्दा अगाडि नै आँप पकाउन लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीहरुले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने त्यसमा विषादी प्रयोग गरि पकाएर बेच्ने प्रकृया चलिरहेको छ ।
यसरी विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम एकदमै धेरै हुन्छ। अझ बच्चा, बृद्ध- बृद्धाहरुलाई यसले धेरै मात्रामा असर गर्दछ।
भारतसितको खुला सीमाका कारण व्यापारीले भारतबाट सस्तोमा काँचो आँप किनेर नेपाल ल्याउने र काँचो आँपमा कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरेर छिटो पाकेका यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।
कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्याहरु देखिने बताए । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने क्रम बढेको उनले बताए।
- न्युज बहार संवाददाता