पुस ११, (चितवन) । बागमती प्रदेश सरकारले चेपाङ समुदायको उत्थानका लागि चिउरी
र चमेरो संरक्षण गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले यसका लागि कार्यविधि
तयार गर्न लागेको छ । मकवानपुर, चितवन र धादिङका छ पालिकामा प्रदेश
सरकारले यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
सामाजिक
विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलका अनुसार चेपाङ
समुदायको बसोबास रहेको चितवनको इच्छाकामना, चितवनको कालिका र राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ तथा धादिङको
गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको हो।
सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कार्यक्रम स्थानीय तहको २० प्रतिशत साझेदारीमा लागू गरिने बताइन् । उनको भनाइ अनुसार चिउरीको नर्सरी स्थापना, वृक्षरोपण, सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवर्द्धन, चिउरीको मह र दानाको बजारीकरण यस कार्यक्रममार्फत हुने र चेपाङ समुदायलाई कार्यक्रममार्फत दिगो अर्थोपार्जनको स्रोतको व्यवस्था गरिने छ । अहिले कार्यक्रम कार्यान्वयनका लागि चार चरणमा छलफल भएको भन्दै सबैको सुझाव र सल्लाहका आधारमा कार्यान्वयनमा लैजानेछ।
यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरण गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
- न्युज बहार संवाददाता