साउन २,
काठमाडौँ । रूसका दुई वाइल्डबेरीज गोदाममा युक्रेनी ड्रोन आक्रमण, ८ जनाको मृत्यु, ६२ जना घाइते।
युक्रेनले रूसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीज (Wildberries) का दुई गोदाममा ड्रोन आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।
रूसी अधिकारीहरूका अनुसार, ताम्बोभस्थित गोदाममा ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएका छन्। त्यस्तै, मस्को क्षेत्रको इलेक्ट्रोस्टालस्थित अर्को गोदाममा १ जनाको मृत्यु तथा ३७ जना घाइते भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा ड्रोन उत्पादनका लागि आवश्यक प्रतिबन्धित सामग्री र नेभिगेसन उपकरण आपूर्ति हुने प्रमुख लजिस्टिक केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन्। उनले एजोभ सागर, कालो सागर तथा रूसद्वारा अधिग्रहित क्रिमियाका लक्ष्यहरूमा पनि आक्रमण गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका, तर स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेका तस्वीर र भिडियोहरूमा गोदाममा ठूलो आगलागी भएको, बाक्लो धुवाँ उठिरहेको र कर्मचारीहरू बाहिर निस्किरहेको देखिएको छ।
जेलेन्स्कीले यी आक्रमणहरू रूसले युक्रेनका नागरिक पूर्वाधार, सहर र बस्तीहरूमा गरिरहेको आक्रमणको जवाफस्वरूप गरिएको बताएका छन्। बुधबार बिहानसम्म भएको रूसी आक्रमणमा युक्रेनमा १४ जनाको मृत्यु भएको जनाइएको छ।
वाइल्डबेरीजकी प्रमुख तात्याना किमले यो घटना कम्पनी र रूसका लागि अत्यन्त दुःखद रहेको बताएकी छन्।
ताम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेर्भिशोभका अनुसार, राति २८ वटा ड्रोन खसालिएका थिए। उनका अनुसार, २५ घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने अधिकांश घाइते शरापनेलका कारण घाइते भएका हुन्। उनले यसलाई ताम्बोभ क्षेत्रमा ड्रोन प्रयोग र मानवीय क्षतिको हिसाबले सबैभन्दा ठूलो आक्रमण बताएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार, इलेक्ट्रोस्टालमा घाइते भएका ८ जनाको अवस्था गम्भीर छ। उनले रातभरि मस्को क्षेत्रमा ४८ वटा ड्रोन खसालिएको र एउटा ड्रोन खस्दा तेल भण्डारण केन्द्रमा क्षति पुगेको बताएका छन्।
हाल घटनास्थलमा दमकल, उद्धार टोली तथा आपत्कालीन सेवाका कर्मचारीहरूले काम गरिरहेका छन्।
युक्रेनले पछिल्ला समयदेखि रूसका ऊर्जा तथा तेल पूर्वाधारमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। यसअघि युक्रेनले रूसको तेल प्रशोधन क्षमताको करिब ४३ प्रतिशत प्रभावित भएको दाबी गरेको थियो।
युक्रेनका अनुसार, रूसले तेल तथा ग्यास निर्यातबाट प्राप्त आम्दानी युद्ध सञ्चालनमा प्रयोग गर्ने भएकाले ती पूर्वाधार वैध लक्ष्य हुन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणका कारण इन्धन आपूर्तिमा समस्या आएको स्वीकार गर्दै जुलाईको सुरुआतमा घरेलु बजारमा इन्धन आपूर्ति बढाउने कानुनमा हस्ताक्षर गरेका थिए।
- न्युज बहार संवाददाता