असोज
२, काठमाडौँ। भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा गम्भीर
प्रभाव पारेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार यस आन्दोलनले भौतिक क्षतिको साथै
अन्तर्राष्ट्रिय रुपमा नेपालप्रति अन्योलपूर्ण सन्देश पठाएको छ, जसको असर पर्यटक आगमनमा देखिन थालेको छ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बर नेपालमा प्रमुख
पर्यटन सिजन मानिन्छ, जहाँ सामान्यतया
मासिक एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आउँछन्। तर, यसपटक आन्दोलनपछिको अवस्थाका कारण
सिजनको सुरुवातमै पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत
(सीईओ) दीपक राज जोशीका अनुसार, आन्दोलनअघि र पछिको
आगमन तुलना गर्दा करिब ४० प्रतिशतले पर्यटक आगमन घटेको छ। बाँकी पर्यटकहरूले पनि
बुकिङ रोकेर निजी क्षेत्रमार्फत नेपालको वर्तमान अवस्थाबारे जानकारी लिइरहेका छन्।
यद्यपि, आन्दोलनअघि नेपाल आइसकेका धेरै पर्यटक
अहिले पनि स्वदेशका विभिन्न गन्तव्यहरूमा भ्रमण गरिरहेका छन्। बेलायती पर्यटक
ह्यारी ज्याकसन जस्तै केहीले त सामाजिक सञ्जालमा भिडिओहरू शेयर गर्दै नेपाल
भ्रमणमा कुनै अवरोध नरहेको सकारात्मक सन्देश पनि दिइरहेका छन्।
- न्युज बहार संवाददाता