साउन १४, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट विश्व शान्ति दिवसका अवसरमा ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ ।
आगामी असोज ६ गते विश्वभरी शान्ति र सद्भाव फैलाउने उद्देश्यले विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो ।
जिल्ला समन्वय समिति, काभ्रे सेवा समाज, तथा नागरिक समाज एवं सामाजिक संस्थाको र स्थानीय तहको संयुक्त आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास गर्ने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्ने, हिन्दू र स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताएका छन ।
सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्त्वपूर्ण हुने विश्वास गरिएको उनले जनाएका छन ।
उक्त पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै त्रिवेणीघाट, पनौती बजार, सुन्थान, शङ्खु र इँट्टेबाट ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध पुग्नेछ ।
साढे तीन घन्टामा नौ दशमलव आठ किमी दूरीको पदयात्रा पार गरिने अनुमान गरिएको छ ।
नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल रहेको मान्यता बोकेको शन्ति स्थल हो ।
लुम्बिनीमा बुद्धले पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’ बाट नमोबुद्ध नामकरण भएको मान्यता रहिआएको छ ।
- न्युज बहार संवाददाता