जेठ २, चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । गर्मी सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ह्वात्तै बढेको हो ।
गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताएका छन ।
गुरुङले भने 'दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्', । यस झरनामा शनिबार र सार्वजनिक बिदाका दिन याहाँ अत्यधिक घुइँचो लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले जलबिरे झरना अबलोकनका लागी टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारी हराउँदै गएपछी यहाँ आउने पर्यटकको क्रम निरन्तर बढेको हो ।
झरना इच्छाकामना गाउँपालिकाको वडा नं ६ मा रहेकोले वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना एक उत्कृष्ट गन्तव्यभित्र पर्दछ । यसल झरनाले सबै पर्यटकको मन लोभ्याएको छ ।
यसको सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याएको छ ।
अहिले बढ्दै गरेको चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ साथै यस क्षेत्रमा पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र पनि व्यवस्थित बन्दै गएका छन ।
- न्युज बहार संवाददाता