फागुन ८,
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले मिलेर जान नेकपा
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई
प्रस्ताव गरेको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार
पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई
माओवादीबाट सहयोग गर्न प्रस्ताव गरेका हुन्।
छलफलमा सहभागी कांग्रेसका एक नेताले भने ‘राष्ट्रपति निर्वाचनमा हामीलाई सहयोग
गर्नुहोस् भनेर सभापतिजीले प्रधानमन्त्रीजीलाई प्रस्ताव राख्नुभएको छ।
प्रधानमन्त्रीजीले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ,’ ।
चुनावका बेलाको गठबन्धनलाई कांग्रेसले ब्युँताउने प्रयास गरिरहेको छ। प्रधानमन्त्रीमा दाहाललाई गत पुस २६ गते विश्वासको मत दिएपछि कांग्रेसका नेताहरू प्रधानमन्त्री दाहालसँग भेटघाटलाई तीव्रता दिइरहेका छन्।
राष्ट्रपति निर्वाचनमा कांग्रेसले सहयोगको औपचारिक प्रस्ताव
राखेका बेला माओवादी पदाधिकारी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार अपरान्ह ४ बजे पदाधिकारी
बैठक बस्ने र उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने
तयारी छ।