पुस २४, काठमाडौँ । साताको अन्तिम
कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार
घटेको नेप्से बिहीबार भने ४.५९ अंकले वृद्धि हुँदै २६४०.५४ बिन्दुमा पुगेको हो।
परिसूचक बढे पनि यस दिन कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको देखिएको
छ।
बुधबार ५ अर्ब १७ करोड रुपैयाँको
कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारबाट ४ अर्ब ९०
करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
यस दिन सान्भि इनर्जीको शेयरमूल्य
सबैभन्दा बढी ८.१६ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको शेयरमूल्य साढे ५
प्रतिशतभन्दा बढीले बढ्दा अन्य स्टकहरूको मूल्य वृद्धि ५ प्रतिशतभन्दा कममै सीमित
रह्यो। घट्ने स्टकहरूको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमको आधारमा एसवाई प्यानल
नेपाल शीर्ष स्थानमा रह्यो, जसको करिब २० करोड ६
लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको
साढे १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो भने सान्भि इनर्जीको कारोबार रकम पनि
साढे १५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ७
उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा
उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन्।
- न्युज बहार संवाददाता