माघ १७, काठमाडौँ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा एक दशक
अगाडिसम्म पुग्न निकै कठिन, अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौंको सङ्ख्यामा
ओहोरदोहोर गर्ने पशुचौपायाको हुल हुने गर्दथ्यो ।
ढोरपाटन उपत्यकामा जसोतासो पुगेका पर्यटकलाई पनि के खाने, कहाँ
बस्ने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो। खाना खाने र
सुत्ने होटलको सुविधा नहुँदा ढोरपाटन पुग्ने पर्यटकहरू गाईभैंसी बाँध्ने गोठमा
स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे।
पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्थाको अन्त्य भएपछी अहिले भने बाह्रै महिना पर्यटक ढोरपाटन
पुग्न थालेका छन्।
कच्ची भए पनि सडक अहिले पुगेको छ। ठाउँ–ठाउँमा सामान्य भए पनि होटल तथा
होमस्टे (घरबास) सञ्चालनमा छन्।
अहिले सडक र होटल सञ्चालनमा आएपछि ढोरपाटन पुग्ने पर्यटकको संख्या समेत
बढेको छ । ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा दैनिक
पर्यटकको संख्या बढ्दै गएपछि करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास
सञ्चालनमा आएका छन् भने होटल सञ्चालनमा आएपछि बाहिरबाट
आउने पाहुनाले समस्या भोग्नुपरेको छैन।
पहिले काठैकाठले बनेका घरहरु मात्र रहेको यस क्षेत्रमा पछिल्लो समय
माटो, ढुंगा,
कङ्क्रिटले बनेका घरहरु पनि छन । अहिलेको
यस समयमा त्याहाँका स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल
सञ्चालन गर्नेहरू पनि धेरै रहेका छन ।
स्थानीय बूढापाकाहरु ढोरपाटनमा आएको परिवर्तनले गदगद् भएका छन्। पहिले सामान्य झुपडी मात्र
रहेको गाउँ बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा मात्र आएका छैनन् यहाँका
भवन निर्माण चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी भएका छन्।
ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको छ
। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरका अनुसार कच्ची
भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको छ भने अहिले टोलटोल
र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको छ । उक्त होटल तथा घरबासमा करिब छ
सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको छ । हाल ढोरपाटन उपत्यकामा करिब ३४
वटा होटल र घरबास रहेको छ।
- न्युज बहार संवाददाता