फागुन ७, काठमाडौँ । आज ७३ औँ प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमका साथ
मनाइदै छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने
मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र
दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छिन् । स्वदेश तथा विदेशमा रहेका
सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले
दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन
सक्नुपर्ने उनले उल्लेख गरेकी छिन् ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रजातन्त्र दिवसका अवसरमा
आज शुभकामना सन्देश दिँदै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख
राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक
क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका
लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड दिएका छन । नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित
प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको
गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए ।
यता नेपाली काग्रेसका सभापती शेर बहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताए।