फागुन
२४, काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय राष्ट्रिय प्रजातन्त्र
पार्टी (राप्रपा) ले गरेको छ। भोली बिहिबार फागुन २५ गते हुन लागेको राष्ट्रपति
निर्वाचनमा सहभागी नहुने निर्णय आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच
घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको हो।
प्रवक्ता
मोहन श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ
बस्ने निर्णय गरेको जानकारी दिएका छन्। प्रवक्ता श्रेष्ठले भने
‘राष्ट्रपति
निर्वाचनको मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ।’
भोलि
बिहीबार राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेसका वरिष्ठ नेता
रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा गत फागुन १३
गते मनोनयन दर्ता गरेका थिए। त्यस समयमा पनि राप्रपाले कुनै पनि
उम्मेदवारको समर्थक र प्रस्तावक बसेको थिएन।
तर
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाले राष्ट्रपति चुनावमा कसैलाई मतदान
नगर्ने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा राजसंस्था संग
सम्बन्धित भएकोले राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने अधिकांश केन्द्रीय
कार्यसम्पादन समितिका सदस्य नेताहरूले आजको बैठकमा धारणा राखेका थिए।
कूल २ हजार ४ सय ५० मतभार संघीय र प्रदेश
सांसद गरी राप्रपासँग छ। राप्रपाका प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य
२८ जना छन्।
- न्युज बहार संवाददाता