फागुन १२, काठमाडौं। ललितपुर र काठमाडौँ महानगरपालिकाबीच उपत्यकामा
मेट्रो रेल सञ्चालनबारे शुक्रबार छलफल भएको छ।
संघीय
राजधानीसमेत रहेको काठमाडौंसहित ललितपुर र उपत्यकाका अन्य केही नगरपालिका जोड्ने
गरी मेट्रो रेल सञ्चालन गर्न सकिनेबारे दुई उपत्यकाको मेयरले प्रारम्भिक छलफल अघि
बढाएका हुन्।
छलफल
क्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प
भएको बताउँदै काठमाडौं महानगरलाई नेतृत्व लिन अनुरोध गरेका थिए।
‘उपत्यका
दुई महानगरबीच समन्वय र सहकार्य भए हामी ठूला योजना सम्पन्न गर्न सक्छौं,’ उनले भने, ‘ललितपुर काठमाडौंको सहयात्री
बन्छ, काठमाडौं
महानगरले नेतृत्व गर्नुपर्छ। यसका लागि उपत्यकाका अन्य नगरपालिकासँगको हातेमालो
पनि अपरिहार्य छ।’
काठमाडौं
महानगरको स्रोत–साधन र
बजेट उपत्यकाका अरू स्थानीय तहभन्दा धेरै भएकाले मेट्रोजस्तो ठूलो लगानीको
परियोजनामा काठमाडौंले नै नेतृत्वदायी भूमिका खेल्न सक्ने महर्जनको भनाइ थियो।
काठमाडौंले लिने नेतृत्वमा आफू सहयात्री बन्ने प्रतिबद्धता ललितपुरका मेयरले
व्यक्त गरेका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले पनि मेट्रो रेल उपत्यकाका लागि
अत्यावश्यक भएको उल्लेख गर्दै यस सन्दर्भमा अन्य नगरपालिकासँग योजनाबद्ध छलफल सुरू
गर्ने बताएका छन।
‘अब
मेट्रो रेलबारे अन्य नगरपालिका र सरोकारवाला निकायसँग छलफल सुरू गरौं,’ उनले भने, ‘काठमाडौं महानगरले पनि मेट्रो
रेलबारे अनौपचारिक रूपमा सोधखोज गरिरहेको छ।’
दुई मेयरबीच भएको भेटमा उक्त अवधारणापत्रमाथि पनि छलफल भएको थियो।
यसअनुसार मेट्रो रेल ल्याउन झन्डै २० वर्ष लाग्ने बताइएको छ। यसको अनुमानित लागत
करिब १८ खर्ब रूपैयाँ छ।