भदौ १३, काठमाडौँ । आज बुधबार देखि एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण सुरु हुँदैछ । सेप्टेम्बर १७ सम्म एसिया कपका खेलहरु श्रीलंका र पाकिस्तानका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पहिलो वरियताको पाकिस्तानसँग नवप्रवेशी नेपालले भिडन्त गर्दैछ ।
नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो भने एसिया कपमा पाकिस्तानको यो १४औं सहभागिता हो । पाकिस्तान एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत हो भने पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि जितिसकेको छ ।
आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा नेपाल रहेको छ। यसपटकको एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको राष्ट्र हो ।
आजको खेल नेपाली समयअनुसार दिउँसोको सवा तीन बजे खेल हुँदैछ।
एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन् भने सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप अहिले हुन लागेको हो।
- न्युज बहार संवाददाता