असार ५, बागलुङ। अहिले रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भइसकेका छन् । यसै सन्दर्भमा रैथाने धान संरक्षण गर्ने किसानलाई बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले अनुदान दिने भएको छ ।
वडाले किसानको उत्पादनको आधारमा अनुदान कार्यक्रम
घोषणा गरेको हो । रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन
गर्ने कार्यक्रम वडा कार्यसमितिले निर्णय गरेर ल्याइएको हो । वडाध्यक्ष नारायण शर्मा पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी रु
एक-एक हजार अनुदान दिइने छ । रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र
आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको वडाध्यक्षले जनाएका छन । पौडेलका अनुसार आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान
भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको छ ।
यस विषयमा पौडेलले भने “तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड
पनि वडाले राख्छ, वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने
योजना पनि बनाइन्छ ।”
लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू
गर्न लागिएको हो । किसानलाई अनुदान दिन वडाले पहिलो चरणमा रु ५० हजार विनियोजन गरेको छ ।
- न्युज बहार संवाददाता