साउन ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको छ ।
सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको जनाएको छ ।
यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको समेत जनाएको छ ।
यसैगरी राष्ट्र बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने मौद्रिक नितिमा उल्लेख गरिएको छ ।
अर्को तर्फ राष्ट्र बैंकले बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखेको जनाएको छ ।
- न्युज बहार संवाददाता