साउन ५, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज शुक्रबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता