असोज ७, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ भने नेपालमा भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर यसको प्रभावले आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सबै प्रदेशमा आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसैगरी तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति सबै प्रदेशमा आंशिक बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता