भदौ ५, काठमाडौँ । अहिले नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज मंगलबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी मौसम पूर्वानुमान महाशाखाले आज राति गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
- न्युज बहार संवाददाता