फागुन
२०, काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ लाई
लक्षित गर्दै देशभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
निर्वाचन स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न
गराउन आवश्यक सम्पूर्ण तयारी सकिएको उनले स्पष्ट पारे । मतदातालाई निर्धक्क भएर
मतदान प्रक्रियामा सहभागी हुन पनि उनले आग्रह गरे । साथै, निर्वाचन सुरक्षादेखि मतपत्र र मतपेटिका
ओसारपसारसम्मका लागि स्पष्ट कार्यविधि बनाइएको र अवाञ्छित गतिविधिमा संलग्न
हुनेमाथि कडा कारबाही गरिने चेतावनी समेत दिए ।
उनका अनुसार सरकारले
निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ स्वीकृत गरेर त्यसअनुसार सुरक्षा निकाय
परिचालन गरिसकेको छ । देशभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी तैनाथ भइसकेका
छन् ।
निर्वाचन
अवधिमा कुनै पनि गैरकानुनी वा अवाञ्छित कार्यमा संलग्न हुनेलाई सरकारले उन्मुक्ति
नदिने गृहमन्त्री ओमप्रकाश
अर्याल ले चेतावनी दिएका छन्
। यस्ता गतिविधि केवल नियन्त्रणमै सीमित नराखी कडा कानुनी प्रक्रिया अघि बढाइने
उनले स्पष्ट पारे ।
उनका अनुसार त्यस्ता
कार्य देखिएमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने, अभियोजन प्रक्रिया अगाडि बढाइने र
आवश्यक परे अदालतसमक्ष उपस्थित गराइनेछ । दोषी ठहरिएमा कानुनअनुसार सजाय
भोग्नुपर्ने उनले बताएका छन् ।
- न्युज बहार संवाददाता