जेठ २८, तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिकाले यातायात समितिलाई यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन पत्राचार गरेको छ ।
व्यास नगरपालिकालाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न हेतु यात्रुवाहक बसमा पनि ‘डस्टविन’ को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जथाभावी रुपमा फोहर फालिदिँदा नगरपालिका क्षेत्र दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको जानकारी दिएका छन । उनि भन्छन, “नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौ ।”
व्यास नगरपालिकाले स्थानीय यातायात प्रालि, पृथ्वीराजमार्ग यातायात समिति, ट्याक्सी व्यवसायी समिति, व्यासभूमि यातायात प्रालि र अटो रिक्सा व्यवसायी समिति सबैलाई पत्राचार गरेको हो ।