साउन
१, काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी संघीय
सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौँ महानगरपालिकासहितका स्थानीय तहले
अव्यवस्थित तवरले फोहोर फालेको भन्दै पुनः आन्दोलित भएका छन्।
उनीहरूले
साउन १ गते अर्थात आज सोमबारदेखि काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन गर्ने थलो
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कन्टेनर प्रवेशमा रोक लगाउने बताएका छन।
ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले आफ्नो कुरा राख्दै भने 'फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्यौँ तर सहरी विकास मन्त्रालयको कानमा परेन, प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयनमा आउन सकेन।'
केही समय अगाडी ककनी गाउँपालिकाको १२ औँ सभाले निर्णय गरेर फोहोरका कन्टेनरको प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार साउन १ गतदेखि ठूला प्रतिगाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रूपैयाँ लिने भनिएको थियो।
सोही विषयमा काठमाडौँ महानगरपालिकाले त्यसको स्वागत गरी महानगर ककनी गाउँ पालिकाको निर्णयको पक्षमा रहेको बताएको थियो। महानगरको फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले ककनि गाउँपालिकाको निर्णय विरुद्ध आइतबार मुद्दा दर्ता गर्यो। उक्त मुद्दाको आज पेसी तोकिएको छ।
बजगाईंले भने ‘त्यसकारण आन्दोलन गर्ने निर्णय गरिएको हो, यहाँका नागरिकलाई क्यान्सर लागे पनि लागोस्, झिँगा भन्किए पनि भन्कियोस्, चिल, गिद्धले घेरे पनि घेरोस्, काठमाडौँ चाहिँ सफा हुनुपर्छ भन्ने सोच मात्र देखियो।’ उनले त्यसैले आन्दोलन निर्विकल्प भएको बताएका छन।
उनले भने 'हामीले फोहोर फाल्न दिँदैनौं भनेका होइन तर यसको उचित व्यवस्थापन हुनुपर्यो।'
- न्युज बहार संवाददाता