असार २९, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैगरी लुम्बिनी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
त्यस्तै आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसैगरी आज राति पनि लुम्बिनी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता