असार २५, काठमाडौँ । नेपालमा अघिल्लो २०७८/७९ आर्थिक वर्षको तुलनामा चालु आव २०७९/८० मा मूल्यवृद्धि नियन्त्रित अवस्थामा देखिएको छ । तर, दैनिक उपभोग्य वस्तुमा भने चर्को मूल्यवृद्धि कायमै रहेको देखिएको छ ।
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति जेठ मसान्तमा ६.८३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । यसलाई उपसूचक अनुसार हेर्दा भने दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेको पाइन्छ ।
रेष्टुरेन्ट तथा होटलको १४.३६ प्रतिशत, मर–मसला उपसमूहको मूल्य ३५.२९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले मूल्य बढेको छ भने अण्डा तथा दुग्ध पदार्थको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य मात्र ८.४९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
यसरी तथ्यांक हेर्दा खाद्यान्नको तुलनामा सुर्तीजन्य पदार्थको मूल्य कम बढेको देख्न सकिन्छ । त्यसैगरी घिउ तथा तेल उपसमूहको मूल्य भने अघिल्लो आर्थिक वर्षको तुलनामा १६.६० प्रतिशतले घटेको छ ।
- न्युज बहार संवाददाता